
मंसिर १५, काठमाडौं
गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच निश्चित गर्ने उद्देश्यका साथ ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप चालु आवमा ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
आइतवार २५० बढी स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव बसन्त अधिकारीले अधिकांश स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको शिलान्यास भएका जानकारी दिए ।
संघीय सरकारका मन्त्री, मुख्यमन्त्री, प्रदेश सकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलगायतले विभिन्न स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास गरेको उनले बताए । आइतबार शिलान्यास हुन नसकेको स्थानीय तहले पनि चालु आर्थिक वर्षभित्रै अस्पताल निर्माण गर्नुपर्नेछ ।
सरकारले पाँच श्ययाको अस्पताल निर्माण गर्न रु आठ करोड, १० शैयाको अस्पतालका लागि ११ करोड र १५ श्ययाका अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन गरेको छ । ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । प्रदेश नं. १ मा ३२, प्रदेश नं २ मा २०, वाग्मतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ ।
सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ । पहिलो चरणमा ३ सय ९६ स्थानीय तहलाई पाँचदेखि १५ श्ययाको अस्पताल बनाउन ६४ अर्ब नौ करोड पठाइएको छ । पाँच श्ययाको अस्पतालका लागि ७० लाख, १० शैयाका लागि ८५ लाख र १५ शैयाका लागि एक करोड पठाइसकिएको छ । अस्पताल निर्माणको सम्पूर्ण काम स्थानीय तहले गर्नेछन् ।
दैलेखका सात वटै तहमा आधारभूत अस्पतालको शिलन्यास
ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सहित देश भर ३ सय ९६ आधारभूत अस्पतालको शिलन्यास गर्ने सरकारको योजना अनुसार दैलखेका सात वटै स्थानीय तहमा आधारभूत अस्पतालको शिलन्यास भएको छ ।
११ वटा स्थानीय तह रहेको दैलेखमा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा (लयाँटीबिन्द्रासैनी स्वास्थ्य चौकी), गुराँस गाउँपालिकामा (रतिखोला स्वास्थ्य चौकी), नौमूले गाउँपालिकामा (नौमूले स्वास्थ्य केन्द्र) महावु गाउँपालिकामा (गैडाबाज स्वास्थ्य चौकी), आठविस नगरपालिकामा (राकमकार्णाली स्वास्थ्य चौकी) ठाटीकाँध गाउँपालिकामा (लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्र) र भैरवी गाउँपालिकामा (भैरवी स्वास्थ्य चौकी) आधारभतू अस्पतालको शिलन्यास भएको हो ।
महावु गाउँपालिकामा १० शैयाको र अन्य ६ वटा स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पतालको शिलन्यास गरेको छ । हाल सम्म अस्पताल नभएको सबै स्थानीय तहमा ५, १०, १५ शैयाका आधारभूत अस्पता बनाउने सरकारको योजाना अन्तर्गत कर्णालीमा पाँच शैयाको १, दश शैयाको ९, पन्ध्र शैयाको ३२ गरी जम्मा ४२ वटा आधारभूत अस्पताल निर्माण गर्ने योजना रहेको छ ।
दुर्गमका जनताले
सहज रुपमा स्वास्थ्य सेवा पाउने
दैलेखका सात वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भएसँगै दक्षजनशक्तिको उपलब्धता भएमा दुर्गमका जनतालाई स्वास्थ्य सेवामा सहज हुने भएको छ । आधारभूत अस्पताल निर्माण सँगै समान्य उपचारको लागि बाहिर जानुपर्ने नागरिकहरुको बाध्यता हट्ने भएको छ ।
आधारभूत अस्पतालको शिलन्यास गर्दै प्रदेश सभासद सदस्य सुशिल कुमार थापाले दुर्गमका जनता अस्पताल संचालन आएसँगै उपचारविहिन भएर अकालमै मृत्युहुने बाध्यता हट्ने बताएका छन् ।
शिलन्यास कार्यक्रका अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष प्रेम बहादुरबुढाले स्थानीय सरकारले जनताका लागि काम गर्ने भएकाले कोहीपनि स्वास्थ्य उपचारबाट बञ्चित हुन नपर्ने बताए ।






